काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेसहित केही महाधिवेशन प्रतिनिधिहरूले पार्टीमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्।
प्रतिनिधिहरूले सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनको क्रममा भएको आक्रमणको निन्दा गर्दै विगतका गल्तीहरूप्रति पार्टी र नेताहरूले क्षमा माग्नुपर्ने र सुधारको दिशामा अघि बढ्न विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्।
हालको राजनीतिक र संगठनात्मक अवस्थामा विशेष महाधिवेशन बोलाउने जिम्मेवारी केन्द्रीय समितिको भए पनि सम्भावना नभएकाले प्रतिनिधिहरूले स्वचालित रूपमा यसको तयारी सुरु गरेको जनाइएको छ।
साथै प्रतिनिधिहरूले विधानको धारा १७ (२) अनुसार पार्टीलाई वर्तमान संकटबाट बाहिर निकाल्ने र समयानुकूल प्रभावकारी बनाउन विशेष महाधिवेशन प्रक्रियामा सबै सदस्यको सक्रिय सहभागिता सुनिश्चित गर्न आग्रह गरेका छन्।

