चाडपर्वको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ मनाउनका लागि घर फर्किनेको संख्या बढेपछि चहलपहल बढेको छ । घरबाट रोजगारी वा अन्य कारणले बाहिर गएकाहरू फर्किन थालेपछि सार्वजनिक स्थल, बजार, बसपार्क क्षेत्रहरूमा चहलपहल बढेको छ । रोजगारी, अध्ययन गर्न घर छोडेका तथा बसाइ गरेर तराई झरेकाहरू पनि पुख्र्यौली घरमा दसैँका लागि पूजाआजा गर्न जाने क्रम बढेको छ । जसले गर्दा पछिल्लो केही दिन यता अत्तरिया बसपार्कमा पनि यात्रुको चाप बढेको छ ।

यातायात व्यवसायी देव विकले विगतझैँ यस वर्ष पनि चाडपर्व मनाउनका लागि पहाडी जिल्ला जाने यात्रुको चाप बढेको बताए । उनले बसपार्कमा यात्रुको चाप बढेसँगै सार्वजनिक सवारी साधन पनि थपिएको बताए । यात्रुको चाप बढेपछि यातायात व्यवसायीले सबैलाई समयमा गन्त्वव्यमा पुगाउनका लागि सवारी साधन थप सञ्चालन गरेका छन् । जसले गर्दा टिकट पाउन खासै समस्या नभएको अत्तरियाबाट बैतडीका लागि हिँडेका यात्रु बिसन पन्तले बताए । उनले यात्रुको चाप बढे पनि टिकट पाउन समस्या नभएको बताए । ‘भने अनुसारको सिटको टिकट पाउन त मुस्किल छ तर, टिकट पाइरहेको छ’ उनले भने ‘बसाइ सरेर तराइ झरेको भए पनि दसैँमा पूजाआजा गर्नको लागि र गाउँघरमै दसैँ मनाउन जाने गरेका छौ ।’

अर्का यात्रु बिसन विष्टले सरकारले दसैँमा यात्रुलाई समस्या नहोस् भन्नका लागि विशेष सजगता अपनाउनु पर्ने बताए । उनले बसपार्क मात्रै नभएर बाटोमा पनि यात्रुले दुःख नपाउन भन्नका लागि सजगता अपनाउनु पर्ने बताए । नेपालीहरूका महाचाड दसैँ तथा तिहार नजिकिएसँगै रोजगारीका लागि छिमेकी देश भारत गएकाहरू पनि फर्किन थालेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार