पोखरा । गण्डकी प्रदेश सरकार मातहतका ध्वस्त भएका संरचना पुनर्निर्माणका गर्न कोष बनाउन आग्रह गर्दै नेपाली कांग्रेस गण्डकी संसदीय दलले १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
दलको शुक्रबार बसेको बैठकले पुनर्निर्माणको योजना तत्काल ल्याएर कोषमार्फत निर्माण गर्न आग्रह गर्दै १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।
पछिल्लो जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन भदौ २४ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ४ मन्त्रालय, मातहतका करिब ५० संरचना तोडफोट, लुटपाट तथा आगजनी भएका छन् ।
करिब ५० वटा चारपांग्रे र करिब १ सय २० वटा दुई पांग्रे सवारी साधन जलेका प्रारम्भिक तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
कांग्रेस गण्डकी संसदीय दलका प्रमुख सचेतन नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले आन्दोलनका क्रममा प्रदेशभित्र सार्वजनिक तथा निजी क्षेत्रका भौतिक संरचना र यातायातको साधनमा ठूलो क्षति भएको हुँदा त्यसको यकिन विवरण तत्काल तयार गरी पुनर्निर्माणको योजना अघि ल्याउन प्रदेश सरकारलाई आग्रह गरेको हो ।

