काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजार परिसूचक (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार १९.८९ अंकले घट्दै नेप्से २७४१.९७ को बिन्दुमा ओर्लिएको हो । मंगलबार समग्रमा ०.७२ प्रतिशतले नेप्से घटेको छ ।
दोहोरो अंकले नेप्से घट्दै गर्दा आज सबैजसो समूहको सूचक राताम्मे बन्यो । सबैभन्दा बढी व्यापार समूहको सूचक १.९७ प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका २२१ कम्पनीको मूल्य घटेको छ भने २९ कम्पनीको मूल्यमा मात्रै बढोत्तरी आएको छ ।
आज परिसूचकमात्रै घटेन कारोबार रकममा पनि उच्च गिरावट आयो । १ करोड ५ लाख ३५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ४ अर्ब ४३ करोड ८२ लाखमै सीमित बन्यो ।
जुन कारोबार रकम पछिल्लो पाँच कारोबार दिनयताकै कम हो ।
सोमबार १२.०३ अंकले बढेको नेप्से आजको प्रिओपन सेसनमा १५.६५ अंकले बढ्दै २७७७.५१ को बिन्दुमा उक्लिएको थियो । प्रिसेसनमा उचालिएको नेप्से सुरुवाती मिनेटमै बढ्दै २७९०.४० को बिन्दुमा पुगेको थियो ।

