काठमाडौं । १५ लाख धरौटी रकम बुझाउन नसक्दा युनुस अन्सारी कारागार चलान भएका छन्। १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि उक्त धरौटी रकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन्।
नक्कली नोटको प्रकरणमा कैद भुक्तान गरेर रिहा भएलगत्तै गत जेठ १० गते शनिबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले ललितपुरबाट पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको थियो। यस मुद्दामा युनुससहित ४ जना र १ संस्थाविरुद्ध मुद्दा दायर भएको थियो।
युनुस अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजनसहित युनुसकी श्रीमती सालमा खातुन, प्रमीला अधिकारी र सुवेश्वरप्रसाद कुशवाहलाई खाताको रकम जफत गर्नका लागि प्रतिवादी बनाइएको थियो। यी तीनै जना फरार छन्। उनीहरूको खातमा १५ लाख ५९ हजार २०९ रुपैयाँ रहेको छ। उक्त रकम जफत गर्न पनि माग गरिएको छ।

