कैलाली । टीकापुर नगरपालिकाले प्लाष्टिक झोलामा रोक लगाउने भएको छ । साउन १ गतेदेखी नगरपालिका क्षेत्रभित्र प्लाष्टिकका झोला बिक्री वितरणमा रोक लगाउने भन्दै नगरपालिकाले सूचना जारी गरेको छ ।
नगरपालिकाले प्लाष्टिक झोला बिक्री वितरणमा रोक लगाउनेबारे टीकापुरस्थित विभिन्न व्यवसायीहरुसँग छलफल थालेको छ । छलफलमा नगर प्रमुख रामलाल डगौरा थारुले जल, जमिन, वातावरण र मानिसका लागि निकै हानिकारक मानिएको प्लाष्टिकको झोला प्रयोगलाई निरुत्साहन गर्न सबै नगरवासी तथा व्यवसायीहरु एकजुट हुनुपर्ने बताए ।
‘हाम्रो वातावरण र मानव स्वास्थ्यका लागि हानिकारक मानिएको प्लाष्टिक झोला मात्रै रोक्न सक्ने हो भने पनि धेरै राहत हुन्छ,’ उनले भने, ‘व्यवसायी, उपभोक्ता सबैले सहयोग गरे छिट्टै टीकापुरलाई प्लाष्टिकमुक्त नगर बनाउन सकिन्छ ।’कार्यक्रमका सहभागीहरुले प्लाष्टिक झोला बन्द गर्ने नगरपालिकाको निर्णय स्वागतयोग्य भएको बताउँदै पालिकाले कडाईका साथ लागु गर्नुपर्नेमा जोड दिए ।
नगरपालिकाले गतवर्ष नै प्लाष्टिक झोला बन्द गर्न ऐन पारित गरिसकेको छ ।

