काठमाडौं । ललितपुर महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने भएको छ ।
ललितपुर महानगर र राष्ट्रिय बिमा बोर्डबिच बुधबार प्रिमियम तिर्नेसम्बन्धी समझदारी पत्रमा महानगरले महानगरवासीको स्वास्थ्य बिमाको ४० प्रतिशत प्रिमियम तिर्ने उल्लेख गरेको छ । समझदारी पत्रमा महानगर प्रमुख चिरीबाबु महर्जन र बिमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्तरूपमा हस्ताक्षर गरेका थिए ।
यसैगरी नगर प्रहरी, महानगरका सरसफाइकर्मी, सवारीचालक र महानगरमा बसोवास गर्ने एकल महिला र टोल स्वास्थ्य उत्प्रेरकको सय प्रतिशत नै प्रिमियम तिर्ने महानगरले जनाएको छ ।
ललितपुर महानगरले पाटन अस्पतालसँगको प्राविधिक सहयोगमा स्वास्थ्य बिमा कार्यक्रम दुई वर्षअघिबाट सुरु गरेको हो । हाल बिमितले यल स्वास्थ्य केन्द्र मार्फत बिमा कार्यक्रमको प्रथम सेवा केन्द्रबाट प्राप्त हुने स्वास्थ्य सेवा लिइरहेका छन् ।
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले पाटन अस्पतालसँग सहकार्य गरेर महानगरको स्वास्थ्य क्षेत्रमा नयाँ र नौलो काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले महानगरवासीलाई प्रदान गर्ने स्वास्थ्य सेवाको प्रस्थान विन्दु हो । ’
महर्जनका अनुसार महानगरले कोभिडको बेलादेखि पाटन अस्पतालसँग सहकार्य गर्दै आएको छ ।

