काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन् ।
मंगलबार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै गृहमन्त्री लेखकले नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताएका छन् । उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको बताएका छन् ।
सरकार र वायु सेवा सञ्चालक संघबीच काठमाडौं उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार गर्ने सम्झौता भएको हो । उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा अपरेशन कस्ट लिएर उद्धार गर्ने समझदारी भएको छ ।

