काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । पार्टी विधानअनुसार दुई महिनामा बस्नुपर्ने केन्द्रीय कार्यसमितिको बैठक यसपटक ९ महिनापछि बस्न लागेको हो ।
कांग्रेस महाधिवेशनको आन्तरिक तयारीका एजेन्डादेखि सरकारको कामकारबाहीको समीक्षासमेत बैठकले गर्ने भएको छ । त्यस्तै अधिवेशन गर्न नसकेर तदर्थवादमा चल्दै आएका भ्रातृसंस्थाको म्याद थपको एजेन्डा पनि बैठकमा प्रस्तुत भएको छ ।
सरकारको स्थिरताका नाममा संसद्का दुई ठूला दलबीच ०८१ असार १५ मा समीकरण निर्माणको सात बुँदे सहमति भएको थियो । बुँदामा औपचारिक हस्ताक्षर भने असार १७ गते भयो । यसबीच गठबन्धनका दुई दल कांग्रेस र एमाले विभिन्न उत्तरचढावपूर्ण घटनाक्रमबाट गुज्रिएका छन ।
एकातिर सात बुँदे सहमतिअनुसार संविधान संशोधन, सुशासन र आर्थिक सुधारका काम हुन नसकिरहेकामा आलोचना बढिरहेको छ भने अर्कोतर्फ सत्ता हस्तान्तरणको विषयमा समेत अविश्वास बढ्दै गएको छ ।

