काठमाडौं । न्याय परिषद् सदस्य पदमा सिफारिस महेशकुमार नेपालले न्याय परिषद् सदस्य भएको खण्डमा गुण र दोषको आधारमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने प्रतिवद्धता जनाएका छन् ।
सोमवार बसेको संसदीय सुनुवाई समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने बताए । उनले संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्ने बताए । संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहने विश्वास व्यक्त गरे। आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार नगर्ने बताए । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहने बताएका छन् ।
उनले भने, ‘कुनै पूर्वाग्रह नलिइ गुण र दोषको आधारमा माननीय न्यायाधीशहरुको नियुक्ति, सरुवा सम्बन्धी कारबाही गर्ने व्यहोरा समेत जानकारी गराउँछु । संविधान र कानूनको निष्पक्षतापूर्वक पालना गर्नेछु । संविधानप्रति पूर्ण जिम्मेवार रही लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रति प्रतिवद्ध रहनेछु । स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको सुदृढिकरणमा सतप्रयत्नशिल रहनेछु । आफूले सम्पादन गरेको कार्यको उत्तरदायित्व र जवाफदेहिता सदैव ग्रहण गर्नेछु । आस्थाको आधारमा कसैप्रति भेदभाव र असमान व्यवहार गर्नेछैन । संविधानतः समानुपातिक तथा समावेशी प्रतिनिधित्वका लागि प्रयत्नशिल रहनेछु । निष्पक्ष र पारदर्शी न्यायालय स्थापनाका लागि निरन्तर प्रयत्नशिल रहनेछु । न्यायिक अनुशासन र न्यायालयप्रतिको जनआस्था अभिवृद्धिका लागि प्रयत्नशिल रहनेछु ।’
प्रश्तावित सदस्य नेपालले न्यायपालिकाको गरिमा अभिवृद्धि गर्दै न्याय र कानून क्षेत्रमा कार्यगत व्यक्तिहरु तथा न्यायाधीश समेतको कर्तव्य र दायित्व रहे पनि न्याय सम्पादन र मुल जिम्मेवारी प्रधानन्यायाधीशमा रहने हुँदा व्यक्तिगत रुपमा प्रधानन्यायाधीशलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । न्यायपालिकाको छवि अभिवृद्धि गर्न आफू लागिपर्ने बताएका छन् ।

