काठमाडौं महानगरमा राजुनाथ पाण्डेको पुनः इन्ट्री

काठमाडौं । काठमाडौं महानगरपालिकामा राजुनाथ पाण्डेको पुनः इन्ट्री भएको छ ।

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख रहेका पाण्डे महानगरपालिकाभित्र मेयर बालेन शाहका विश्वासपात्र मानिन्छन् । २० जेठमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेर नगर प्रहरी प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक (एसपी) विष्णुप्रसाद जोशीलाई सुम्पिएका थिए ।

त्यसअघि गुरागाईंले आफूलाई कार्यालय प्रवेश गर्ने क्रममा अवरोध गरेको भन्दै पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधेका थिए । निलम्बित पाण्डे गुरागाईंको सो निर्णयविरुद्ध पाटन उच्च अदालत पुगेका थिए ।

बुधबार न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । अदालतको आदेशपछि पाण्डेले बिहीबार महानगर प्रहरी बलको कार्यालय पुगेर काम सुरु गरेका छन् ।

गत २१ चैतमा नगर प्रहरीको अवरोधका बीच गुरागाईं वडा अध्यक्ष र कर्मचारीहरूको सहयोगमा नगर प्रहरीलाई पेलेरै कार्यालय परिसरभित्र प्रवेश गरे । सोही घटनाप्रति प्रतिशोध साँध्दै गुरागाईंले पाण्डेलाई निलम्बन गरेका थिए । तर, पाटन उच्च अदालतले पाण्डेको पक्षमा आदेश दिँदै गुरागाईंको प्रतिशोधलाई विफल बनाइदिएको छ ।

गुरागाईं काठमाडौं टावर विवादमा मुछिएपछि विवादमा आएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार