राजविराज भन्सार कार्यालयः ५ करोड ७० लाख बढी राजस्व सङ्कलन

सप्तरी । राजविराज भन्सार कार्यालयले २०८१ साउनदेखि २०८२ जेठ मसान्तसम्म पाँच करोड ७० लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा आठ करोड ८१ लाख ७९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य भए पनि जेठ महिनासम्म ६४ प्रतिशत मात्र राजस्व सङ्कलन भएको राजविराज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

आर्थिक वर्ष २०८०/०८१ मा यस कार्यालयले ६ करोड ५० लाख ३४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा आठ करोड सात लाख ४७ हजार अर्थात एक सय २४.१६ प्रतिशत राजस्व सङ्कलन गरेको कार्यालयका भन्सार अधिकृत सत्यनारायण सिंंहले बताएका छन् ।

बढ्दो भन्सार छल्ने प्रवृत्ति र खुला सीमा नाकाका कारण यसपालि लक्ष्य अनुसार राजस्व हुन नसकेको हो । केही साना गाडी बाहेक ठुला गाडी र सामान लिएर व्यापारीहरू भन्सार तिर्न नआउने गरेको र मिलोमतोमा चोर बाटोबाट सामान पास गर्ने पबृत्तिका कारण प्रयास गर्दा गर्दै पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको उनले जानकारी दिएका छन् ।

यस आर्थिक वर्षमा सशस्त्र प्रहरी मार्फत दुई सय ६३, नेपाल प्रहरी मार्फत ५३ तथा भन्सार कार्यालय मार्फत आएको ९२ गरी जम्मा चार सय आठ मुद्दामा यस कार्यालय मार्फत प्रक्रिया पुर्‍याएर ३ सय १३ मुद्दा फैसला गरेको उनले जानकारी दिए ।

सम्बन्धित समाचार

ताजा समाचार