सेयर कर्जाको जोखिमभार शतप्रतिशत कायम गरिने

काठमाडौं । राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिमभार घटाएको छ ।

हाल सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकोमा घटाएर शतप्रतिशत कायम गरिने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो ।

यसले बैंकहरूको पुँजी कोषमा रहेको दबाब कम हुनेछ भने सेयर धितोमा जाने कर्जा लगानीमा बैंकहरू प्रोत्साहित हुनेछन् ।

यसअघि ५० लाख रूपैयाँभन्दा बढी सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशत कायम गरिएको थियो। ५० लाख रूपैयाँमुनिको सेयर धितो कर्जाको जोखिमभार भने यस अघिदेखि नै १०० प्रतिशत थियो ।

चालु आर्थिक वर्षको नौ महिना (साउनदेखि चैत) को अवधिमा बैंकहरूको प्रडक्ट अनुसार जाने कर्जामा आयातमा आधारित कर्जा र सेयर धितोमा जाने कर्जामा उच्च दरमा वृद्धि देखिएको हो ।

सेयर धितोमा जाने कर्जा पनि ३७.८ प्रतिशतले बढेर एक खर्ब २४ अर्ब रूपैयाँ पुगेको छ । गत वर्षको यही अवधिसम्म भने ८६ अर्ब रूपैयाँ यस्तो कर्जा गएको थियो। चैत एक महिनामा मात्रै ६ अर्ब रूपैयाँले सेयर धितो कर्जा बढेको हो ।

सम्बन्धित समाचार

ताजा समाचार