प्रतिनिधिसभाको आजको बैठकमा सांसद रोशन कार्कीले महिला सामाजिक परिचालिकाहरूको बेवास्ता भएकोप्रति गम्भीर आपत्ति जनाउँदै सरकारलाई न्यायपूर्ण समाधानको माग गरेकी छन्।
सांसद कार्कीले भनिन्, “जनसंख्याको ५२ प्रतिशत हिस्सा ओगट्ने महिलाहरू सधैँजसो राज्यद्वारा अपहेलित भएका छन्।” विशेषगरी महिला सामाजिक परिचालिकाहरूको योगदानलाई नजरअन्दाज गर्दै हाल करिब ५ सयजना महिला परिचालिकाहरू रोजगारीविहीन अवस्थामा यता–उता भौतारिइरहेका तथ्य उनले संसदमा प्रस्तुत गरिन्।
विगतमा महिला विकास शाखामार्फत सामाजिक परिचालिकाहरूले समुदायमा महिला सशक्तीकरण, सचेतना तथा विकासका कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै सांसद कार्कीले हाल उनीहरूको व्यवस्थापनबारे राज्य गम्भीर नहुनु दुःखद भएको बताइन्।
उनले भनिन्, “महिला तथा सामाजिक विकास समितिले सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिइसकेको छ। तर, अझैसम्म पनि कार्यान्वयनमा ढिलाइ भइरहेको छ। यो बेवास्ताको अवस्था अन्त्य हुनुपर्छ।”
सांसद कार्कीले सभामुखमार्फत सरकारलाई स्पष्ट सन्देश दिँदै भनिन्, “महिला सामाजिक परिचालिकाहरूको योगदानलाई सम्मान गर्दै, उनीहरूलाई ‘गोल्डेन ह्यान्डसेक’ (Golden Handshake) मार्फत उचित क्षतिपूर्ति सहित विदा गरियोस्।”

