सगरमाथा संवादमा सहभागी नगराएको भन्दै सांसदहरुको आक्रोश, सरकारले बेवास्ता गरेको आरोप

सगरमाथा संवादमा सम्बन्धित संसदीय समितिका सदस्यहरुलाई उपस्थिति नगराइएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा बोल्दै सांसदहरुले सगरमाथा संवादमा सम्बन्धित समितिका सदस्यहरुलाई नबोलाइएको भन्दै आपत्ति जनाएका हुन् ।

समितिका तीन जना सदस्यहरुलाई बोलाइएको जानकारी सभापति कुसुमदेवी थापाले दिएसँगै उनीहरुले सभापति थापाले आफूलाई मनपर्नेलाई बोलाएर संवादमा सहभागी जनाएको बताइन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सरस्वती सुब्बाले एउटा प्रतिनिधि सभाको १० वटा विषयगत समितिमध्ये कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सगरमाथा संवादका लागि हकदार समिति हुँदा पनि किन तीन जना सांसदहरुलाई मात्रै बोलाएको भन्दै आपत्ति जनाइन् । उनले सगरमाथा संवादका लागि अर्को हकदार समिति पूर्वाधार विकास समिति भएपनि त्यहाँबाट समेत सांसदहरु नबोलाइएको गुनासो गरिन् ।

उनले भनिन्, ‘यहाँ सगरमाथा संवादको कुरा उठेको छ । समितिले मात्रै कसैले कसैलाई छानेर पठाएको हो की ? कुन एक्सेसमा हामी गयौँ ? नेपाल सरकार आयोजक भएपनि व्यवस्थापन गर्ने काम प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हो । अब जुध्ने कुरा भएन, कुस्ती खेल्ने कुरा भएन । मैले हिजो के थाहा पाएँ भने साढे ५ सय रजिस्टेशन गरियो । दुई सय जति विदेशी पाहुना । साढे तीन सय नेपाली पाहुना भन्ने थियो । कम सेकम रजिस्टेशनको आधारमा डकुमेण्ट दिनुपर्छ ।’

समितिको बैठकमा बोल्दै समिति सभापति कुसुमदेवी थापाले गरमाथा संवादमा पनि वन मन्त्रालयलाई पटक पटक सामेल गराउन आग्रह गर्दा समेत सरकारले चासो नदेखाएको बताइन् । उनले धेरै पटकको आग्रहपछि मात्रै सरकारले समितिबाट तीन जना सहभागी हुनसक्ने जानकारी गराएको बताइन् ।

उनले भनिन्, ‘सगरमाथा संवादमा पनि वन मन्त्रालयलाई पटक पटक सामेल गराउनुस् भनेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय हो भन्नुभयो । समितिमा आएर पनि समितिका सदस्यहरुलाई समावेश गराउनुपर्छ भनेर भन्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले हामीलाई त्यत्ति महत्व नदिएपछि हामीले एक्सेस नपुगेको हो । प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिने पनि होइन नि त । ३ जनाको कोटा थियो । हामीले कुरा गर्दा प्रधानमन्त्री कार्यालयले प्रत्येक दललाई कोटा नछुट्ने गरी २५ जना दिएको छ, त्यसमा समितिका माननीयज्युहरु पनि आउनुस् भन्नुभयो । आफ्नो आफ्नो दलको नाम आइसकेको भन्ने भएकाले तीन जनाको नाम पनि धम्कीपूर्ण भाषा पूरा गरेर नै आएको हो । ३९ वटा बैठकको निर्णय हो । कोही व्यक्तिको निर्णय होइन, यो समितिको सम्पती हो, पुँजी हो । कसैले लहडमा लगेर जलाउनु हुन्छ भने जलाउनुस् । यो समग्र समितिको ३९ वटा बैठकको निर्णय हो ।’

समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले सगरमाथा संवादका क्रममा सभापति थापाले आफूलाई मन परेको व्यक्ति छानेर सहभागी गराएको आरोप लगाइन् । उनले सगरमाथा संवाद आयोजनामा छिमेकी राष्ट्रका उच्च तहका पदाधिकारीहरु सहभागी नहुनुले नेपालको स्तर मापन भएको बताइन् । कामको जिम्मेवारी वहन गर्न नसकेको भन्दै सभापति थापाको राजीनामा माग गरिन् ।

उनले भनिन्, ‘नेपालले पहिलो पटक सगरमाथा संवाद गरेको छ । यो हाम्रो लागि पनि गर्वको कुरा हो । सगरमाथा संवादमा जुन हिसावले उपस्थिति राम्रो हुन सकेन । छिमेकी देशहरुबाट पनि आउन सक्ने प्रतिनिधि आउनु भएन । यसले पनि हामी कुन स्तरमा छौँ भन्ने हो । सगरमाथा संवादमा हामी जति छौँ, त्यतिको उपस्थिति हुन नसक्ला तर हरेक पार्टीबाट एक जनाको सहभागिता हुनुपर्छ । सभापतिज्युको इच्छाअनुसार मात्रै पार्टीसिपेट गर्ने हो । त्यसो हो भने भनिदिनुपर्छ । नेपालमै भएको कार्यक्रममा त्यत्ति मात्रै जान मिल्यो भन्न मिल्छ, सभापतिज्युले । सभापतिले आफ्नो कामको इनिसिएट लिनसक्नुहुन्न भने सभापति त्यहाँ बसिराख्नुको औचित्य पनि छ जस्तो लाग्दैन ।’

समितिको बैठकमा सभापति थापाले रुलिङ गर्न नसकेको र समितिको नेतृत्व गर्न नसकेको आरोप लगाएपछि सभापति थापाले सांसद कठायतसँगै सिक्नुपर्ने टिप्पणी गरिन् । जवाफमा सांसद कठायतले आफूबाट सिक्न आग्रह गरिन् ।

समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सम्झना थपलियाले सगरमाथा संवादबारे सांसदहरुसँग छलफल नै नगरी सभापति थापाले निर्णय गरेको भन्दै आपत्ति जनाइन् । उनले सगरमाथा संवादका क्रममा समिति सदस्यहरु छनौट गर्दा कुन प्रक्रिया अपनाइएको हो ? भन्दै प्रश्न गरिन् ।

उनले भनिन्, ‘हाम्रो समितिको हामीले विभिन्न विषयमा मन्त्रालयका मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छौँ । हाम्रो समितिको बैठक कम बसेका छौँ । समितिले के गर्ने भन्नेमा योजना बनाउन जरुरी छ । सगरमाथा संवादकै बारेमा पनि प्रश्न उठेको छ । कुन विधि र प्रक्रियाबाट हामीले प्रतिनिधित्व गरेका हौँ थाहा छैन । पारदर्शी भएर, छलफल भएर निर्णय गरेर गएको भए राम्रो हुन्थ्यो ।’

उनले पारदर्शी रुपमा समितिका निर्णयहरु हुनुपर्ने बताइन् । समितिको बैठकमा सांसदहरुले समितिको वार्षिक प्रतिवेदनमाथि असन्तुष्टि जनाइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले समितको प्रतिवेदनमा सबै आदेश मात्रै रहेको र कामै नलाग्ने भएको बताएपछि एमाले सांसद सुब्बाले काम नलाग्ने भए आगो लगाइदिनुपर्ने बताइन् ।

जवाफमा सभापति थापाले समितिको वार्षिक प्रतिवेदन समितिका ३९ वटा बैठकको पुँजी भएको र कोही सदस्यहरुलाई मन नपरेको भए जलाउन सक्ने जवाफ दिइन् ।

सम्बन्धित समाचार

ताजा समाचार