नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान सरकार, संसद र न्यायपालिकाप्रति जनताको विश्वास घट्दै गएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद गौतमले काँग्रेस र एमालेको संयुक्त सरकार गठन भएपनि सरकार ‘सरकार जसरी’ सञ्चालनमा नआएको टिप्पणी गरेका हुन् ।
उनले संसद पनि प्रभावकारी रूपमा सञ्चालन नभएको आरोप लगाउँदै वर्तमान प्रणालीप्रति जनतामा निराशा बढ्दै गइरहेको बताए ।
उनले वर्तमान सरकारले जनतामा आशा र भरोसा पैदा गर्न नसकेको आरोप समेत लगाए ।
सांसद गौतमले राष्ट्रिय सहमति निर्माणको आवश्यकता औंल्याउँदै शीर्ष नेताहरुले टाउको जोड्नुपर्ने बेला आएको बताए ।
उनले भने– ‘सरकार हाम्रो छ, काँग्रेस र एमाले मिलेर सरकार बनाएको छ । तर सरकार सरकार जसरी चलिरहेको अनुभुति गरिरहेको छैन म । संसद पनि जसरी चल्नुपर्ने हो त्यसरी चलिरहेको छैन । न्यायपालिकातिर पनि जनताको आशा, भरोसा पैदा नभएको जस्तो लाग्छ । जनता निराश छन् सभामुख महोदय । हामीले जनतामा आशा र भरोसा पैदा गर्न सकेका छैनौं । एक किसिमको नयाँ सोच र नयाँ सम्भावनाहरु क्रिएट गर्न सकिरहेका छैनौं । एकपल्ट सबै शीर्षस्थ नेताहरु टाउको जोड्नुस् । अब मुलुकले एउटा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता म देख्छु ।’
राष्ट्रिय सहमति निर्माण गरेर मात्र मुलुकलाई गन्तव्यमा पुगाउन सकिने उनको भनाइ छ ।
राष्ट्रिय सहमतिमा अगाडी बढ्न अझै ढिला गरे व्यवस्था, संघीयता र सरकारको औचित्य सकिने उनको टिप्पणी छ ।

