गणतन्त्रमाथि खतरा बढ्यो : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढेको बताएका छन् ।

शनिवार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताले उखेलेर फालिसकेको प्रतिगामी तत्त्वले टाउको उठाउने प्रयास गरिरहेकोले त्यसकाविरुद्ध एकजुट हुन एकीकृत समाजवादी आन्दोलनमा रहेको उल्लेख गरे । अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएकाले समाजवादको सपना पूरा गर्न कम्युनिष्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे ।

उनले कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ विकृति र विसंगतिहरुसँग जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए ।

उनले भने ‘आजको दिन नेपाली जनताका लोकप्रिय नेता जननेता मदन भण्डारी र पार्टीका अर्का वरिष्ठ नेता संगठन विभाग प्रमुख जीवराज आश्रित दुवै जनाको अत्यन्त रहस्यमय ढंगले हत्या भएको दिन हो । उहाँहरूको स्मृति दिवस आज । उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । उहाँहरुले देखाउनुभएको बाटोमा हामी अगाडि बढौँ । युवा पुस्ता अघि बढौँ । समाजवादको सपनालाई कम्युनिष्ट पार्टीबाहेक अरुले पूरा गर्न सक्दैन । कम्युनिष्ट आन्दोलनले नै जनतालाई मुक्ति दिएको हो । यस अर्थमा पनि यो आन्दोलनलाई हातेमालो गर्दै अगाडि बढाऊँ । तपाईँ हामी सधैँ आन्दोलनका सहयोद्धाहरू हौँ । कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालको विकृति विसङ्गतिहरूका बीचमा जुध्दै कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुराउन क्रान्तिकारी सोचकासाथ मानिसहरूलाई उभ्याउन हामी लागि परेका छौं । हाम्रो देशको विशेषतालाई राम्ररी बुझ्नु जरुरी छ । सफलतालाई उपभोग गर्न नजान्दा हामी कमजोर पनि भयौँ । आफ्ना कमी कमजोरीलाई स्विकार्दै आग्रह पूर्वाग्रह नराखी अघि बढ्नुपर्छ । जनताको पिर मर्कासँग जोडिन सकियो भने असमानताका लागि लड्न सकियो भने बल्ल पार्टीको आन्दोलनको पनि उपादेयता हुन्छ । चाहे त्यो सामन्ती संस्कार होस्, कुरीति विरुद्ध जुध्दै आएका छौं । वर्तमानमा लोकतन्त्रमाथि खतरा चुनौती आएको छ । विगतमा उखेलेर फालिसकेको प्रतिगामी तत्त्वले पुनः टाउको उठाउने प्रयास गरिरहेको छ । त्यसैले त्यसलाई निस्तेज पार्नका लागि हाम्रो पार्टी आन्दोलनमा छ ।’

अध्यक्ष नेपालले मुलुकको परिस्थितिको आधारमा कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने विषयमा छलफल आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

ताजा समाचार