‘मेरो नछुटोस् है’ भनेर अर्थमन्त्रीसँग संसदमै कानेखुसी गर्नुपर्ने अवस्था छ : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले राष्ट्र निर्माणको मूल उद्देश्यबाट राजनीतिक दलहरू च्युत हुँदै गएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उपसभापति वाग्लेले यस्तो आरोप लगाएका हुन् ।

उनले राजनीतिक दलहरूले मुलुकको विकासमा केन्द्रित हुनुभन्दा निर्वाचनमुखी राजनीति गर्दा मुलुकमा समस्यामा सिर्जना भएको बताए । उनले बजेट निर्माणको समयमा मात्रै लुछाचुँडी गर्नुपर्ने अवस्था रहेको तर्क गरे । सांसदहरूले आफ्नो योजना नछुटोस् भनेर अर्थमन्त्रीसँग संसदमा कानेखुसी गर्नुपर्ने अवस्था रहेको तर्क समेत गरे ।

राज्यको संरचनागत सुधारमा नहुँदा दलहरूले भोट बैंकको राजनीति र टुक्रे आयोजनाको राजनीतिमा लागेको उनको भनाइ छ ।

उनले भने ‘हामी राष्ट्र निर्माणको विराट उद्देश्यबाट अलिअलि च्युत हुँदै निर्वाचनमुखी राजनीतितिर गयौँ । त्यही भएर अहिले लुछाचुँडी छ । अर्थमन्त्रीज्यू यहाँ बस्नुभयो चार दिन । मैले देखिरहेको छु सबै सांसदहरूले एकैछिन भएपनि कानेखुसी गर्नुपर्नेछ– मेरो चाहिँ नछुटोस् है हजुर भनेर । त्यसैले यो भोट बैंकको राजनीति, टुक्रे आयोजनाको राजनीति लगायतमा राज्य प्रणालीकै दोष भयो । त्यसकारण प्रत्यक्ष कार्यकारीतिर गयौँ भने चाहिँ यो समस्या भत्किन्छ जस्तो मलाई लाग्छ । दोस्रो प्रणालीगत ओभरलोड हुन थाल्यो । एजेण्डा थप गर्ने तर तद्अनुरुप क्षमतामा हामीले अभिवृद्धि गर्न सकेका छैनौँ ।’

प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको व्यवस्थामा जान सकेको खण्डमा निर्वाचनमुखी राजनीतिको अन्त्य गर्न सकिनेमा उनको जोड छ ।

सम्बन्धित समाचार

ताजा समाचार