सांसद सुनिल शर्माको आरोप: ‘राज्य लुट्नेहरु अर्बपति, योगदान दिनेहरू उपेक्षित’

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले पार्टीभित्रको गम्भीर गुटबन्दी, भ्रष्टाचार र योगदानको उपेक्षाबारे कडा टिप्पणी गरेका छन्। बुधबार कोशी प्रदेशमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्रैबाट देश लुटिएको आरोपसमेत लगाए।

“गाउँबाट २५–३० रुपैयाँको चप्पल लगाएर शहर छिरेका नेताहरू आज अर्बपति कसरी भए? राज्यलाई कर नतिरी कसरी यति धनसम्पत्ति जोडे?” शर्माले प्रश्न गरे। उनले यो जनताले उठाएको गम्भीर प्रश्न भएको उल्लेख गर्दै, “यो अब हामी डराएर होइन, स्पष्ट रूपमा उठाउनु पर्ने मुद्दा हो,” भने।

उनले केही व्यक्तिहरूले राजनीतिक दललाई भर्याङ बनाउँदै देश लुटेको आरोप लगाउँदै भने, “सबै पार्टीमा समस्या छ, कांग्रेस मात्र होइन। तर हामीले आफ्नै घरको सुधार नगरी अरूको दोष देखेर केही हुँदैन।”

डा. शर्माले कांग्रेसको पछिल्लो महाधिवेशनमा देउवा पक्षले सत्ता कब्जा गरेको आरोपसमेत लगाए। “प्रतिसोधको आधारमा गुटबन्दी हुने, एउटाले अर्कोलाई समाप्त पार्ने प्रयास हुने, यस्ता चलन कांग्रेसमा मौलाउँदै गएका छन्,” उनले स्पष्ट पारे।

सांसद शर्माले पार्टी जनतासँग प्रत्यक्ष रुपमा जोडिन नसकेको भन्दै चिन्ता व्यक्त गरे। “पार्टीमा योगदान दिने कार्यकर्ताको मूल्यांकन छैन। मैले १६५ क्षेत्रमध्ये सयभन्दा बढी क्षेत्र पुगेँ, कांग्रेसको अवस्था कमजोर हुँदै गएको छ,” उनले बताए।

उनका अनुसार पार्टीभित्र चलिरहेको गुटीय स्वार्थ, व्यक्तिगत सत्ता लोभ र निष्ठावान कार्यकर्ताको उपेक्षा कांग्रेसका मुख्य कमजोरी हुन्।

उनले पार्टी नेतृत्वलाई आत्मसमीक्षा गर्न आग्रह गर्दै, “अब पनि कांग्रेसले समयमै सुधार नगरे जनताले विकल्प खोज्न बाध्य हुनेछन्,” चेतावनी दिए।

सम्बन्धित समाचार

ताजा समाचार