राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताएकी छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उनले जेनजी पुस्ताको भविष्य सुनिश्चित गर्न माग गरिन् । उनले पाका नेतृत्वहरूबाट अब देश विकास हुने आस मरिसकेको बताइन् । उनले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताइन् । रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताइन् ।
उनले भनिन् ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ती छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन् । त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरू राख्न चाहन्छु । हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लिओस् । हाम्रो भविष्य सुनिश्चित गरियोस् । हाम्रो हजुरबुबाको पालादेखिका नेताहरूबाट आशा मरिसक्यो सभामुख महोदय, म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरूको डेट एक्सपायर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । हामी रोजगारी र उद्यमशीलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ । सीप विकासका तालिम चाहन्छौँ ।’
उनले आफूहरू केबल डिग्री नभई गुणस्तरीय शिक्षा चाहने बताइन् ।

