नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस : उर्मिला अर्याल

राष्ट्रिय सभा सदस्य उर्मिला अर्यालले नीति तथा कार्यक्रममाथिको छलफल व्यर्थको बहस भएको बताएकी छन् ।

मंगलवार बसेको राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएकी हुन् ।

उनले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने र छलफल गर्ने गरिए पनि विभिन्न क्षेत्र तथा राजनीतिक दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटी रहेको बताइन् । उनले राष्ट्रिय सहमति निर्माण गर्न सकिने गरी सबै दलहरूसँग विमर्श गरेर नीति तथा कार्यक्रमलाई समृद्ध बनाएर ल्याउन सकिने भए पनि राष्ट्रिय मुद्दाहरूमा साझा सहमतिका आधार तय गरी अगाडी बढ्ने कुरामा कन्जुस्याइँ भइरहेको बताइन्।

उनले पुरानो परम्परा तोडेर नयाँ हिसाबले अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले जबसम्म सबैको सुझावसहित नीति तथा कार्यक्रम अझ समृद्ध बन्दैन, तबसम्म यो छलफल औचित्यहीन जस्तो हुने धारणा राखे । उनले नीति तथा कार्यक्रमहरू ल्याउनुभन्दा अगाडी नै विभिन्न सरोकार समूह र दलहरूसँग छलफल गर्न सकिने भए पनि परम्परावादी कायमै रहेको जिकिर गरे ।

उनले भने ‘राष्ट्रिय सहमति निर्माण गर्न सकिने गरी सबै दलहरूसँग विमर्श गरेर यसलाई अझै समृद्ध बनाएर ल्याउन सकिन्थ्यो । तर, हामी राष्ट्रिय मुद्दाहरूमा साझा सहमतिका आधार तय गरी अगाडी बढ्ने कुरामा कन्जुस्याइँ गर्दै छौँ । यो परम्परा तोडेर नयाँ हिसाबले अगाडी बढ्नुपर्ने देखिन्छ । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने र छलफल गर्ने तर, त्यसमा विभिन्न क्षेत्र, राजनीतिक दलहरूबाट आएका राम्रा सुझावहरूलाई समावेश नगरी जस्ताको तस्तै पास गर्ने परिपाटीले व्यर्थको बहस मात्र बनेको छ । त्यस कारण नीति तथा कार्यक्रमहरूको औचित्य जबसम्म हामी सबैको सुझावसहित अझ समृद्ध बन्दैन भने यो औचित्यहीन जस्तो मलाई लाग्छ । नीति तथा कार्यक्रमहरू ल्याउनुभन्दा अगाडी नै विभिन्न सरोकार समूह, राजनीतिक दलहरू एउटा छलफल र सुझाव लिएर नीति तथा कार्यक्रम ल्याउन सकिन्थ्यो होला तर, हामी परम्परावादी भएर बसेका छौँ । हाम्रा सुझावका कुनै तुक छैन । सबैसँग छलफल गरेर नीति तथा कार्यक्रम ल्याउने परिपाटी बसाल्नुपर्छ ।’

उनले सरकारले केही पुराना कार्यक्रमहरूलाई समावेश नगरेको भन्दै आपत्ति समेत जनाए ।

सम्बन्धित समाचार

ताजा समाचार