नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद बैठकमा बोल्नुपर्ने विषयहरूका बारेमा आफ्ना सांसदहरूलाई विभिन्न निर्देशन (उपदेश !) दिएका छन् ।
शनिवार नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा उनले आफ्ना सांसदहरू संसदमा कसरी प्रस्तुत हुनुपर्छ भन्ने विषयमा सचेत गराए । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सांसदहरूलाई कसैले पार्टी र सरकारको विरुद्धमा गलत कुरा बोल्छ भने तत्काल तीखो रुपमा आलोचना गर्न निर्देशन दिए ।
आज कुनै विषयमा कसैले गलत ढंगले विरोध गर्छ भने त्यसको प्रतिवाद तत्काल गर्नुपर्ने भन्दै उनले तत्कालीन विषयमा भोलि बोल्नुको कुनै अर्थ र महत्त्व नहुने बताए । अध्यक्ष ओलीले सांसदहरूले संसदमा बोल्दा मर्यादित र सभ्य भएर जनताका आवाज प्रतिविम्वित हुनेगरी साहसिक रुपमा आवाज उठाउनुपर्नेमा जोड दिए ।
लोकतन्त्रका लागि सङ्घर्ष गरेको जुनसुकै पार्टीका व्यक्ति भएपनि सम्मानपूर्वक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । संसदको बजेट अधिवेशनको कामले बर्सभरिको अर्थतन्त्र, समाज र राजनीतिलाई गाइड गर्ने भएकाले राष्ट्र केन्द्रित र जनतामा समर्पित भएर कामहरु अगाडि बढाउन सांसदहरूलाई निर्देशन दिए ।
यस्ता छन् : अध्यक्ष ओलीले सांसदहरूलाई दिनुभएको उपदेशहरू
१. सबै माननीयहरूले दस्ताबेजहरू राम्ररी अध्ययन गर्ने, चिन्तन मनन गर्ने, विभिन्न दस्तावेजहरुसँग तुलनात्मक अध्ययन गरी परिस्थितिलाई बुझेर काम गर्ने ।
२. तत्कालीन समस्याहरूलाई संसदमा सम्बोधन गर्ने विषयमा तयारी गर्ने ।
२. देश विकासका तथा सुशासनका प्रश्नहरूमा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ भन्ने सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्ने ।
३. बाढी,पहिरो लगायतका सम्भावित प्राकृतिक घटनाका विषयमा के भइरहेको छ ? के गर्नुपर्छ ? भन्ने बारेमा जानकारी लिने, त्यहीअनुसार आफूलाई तयारी अवस्थामा राख्ने ।
४. आफ्ना निर्वाचन क्षेत्रका जनताका समस्याका बारेमा संसदमा निर्भीक रुपमा समयमै आवाज उठाउने ।
५. समाजका सांस्कृतिक मूल्यहरू चाडपर्व, ऋति,थितिहरूलाई सम्मान गर्ने र अन्धविश्वासलाई लिएर प्रताडना दिने बोक्सीजस्ता कुराहरूको विरोध प्रकट गर्ने, अन्धविश्वासका अनेक विकृतिको अन्त्यका लागि जनजागरणमा ध्यान दिने ।
६. जनताका आवाजहरू प्रतिविम्वित हुनेगरी अर्थपूर्ण रुपमा मर्यादित र सभ्य भएर तथ्यपरक रुपमा साहसिक ढंगले संसदमा प्रस्तुत हुने ।
७. राष्ट्रियताको पक्षमा प्रष्टरुपमा अडान लिएर बोल्ने, राष्ट्रलाई कमजोर पार्ने खालका प्रवृत्तिहरूलाई तिखो ढंगले आलोचना गर्ने, देशभन्दा ठुलो अर्को कुरा हुँदैन भनेर आत्मसाथ गर्दै देशभक्तिको भावनालाई ध्यानमा राखेर जनतालाई जागरूक बनाउने ।
८. पार्टीको विरुद्धमा कसैले गलत ढंगले बोल्छ भने त्यसको प्रतिवाद तत्काल छिटोछरितो रुपमा गर्ने ।
९. संसदको आकस्मिक समयमा अरूलाई गाली गर्ने किसिमले नबोल्ने, तत्कालीन अवस्थामा केही आकस्मिक घटना वा समस्याका बारेमा मात्रै बोल्ने ।
१०. लोकतन्त्रका लागि योगदान गर्ने जुनसुकै पार्टीका भएपनि सम्मान गर्ने, सङ्कीर्ण सोचाइ नराख्ने ।
११. कसैले सरकार ढल्यो भन्दैमा हल्लाको पछाडि नलाग्ने, मिसन ०८४ मा लाग्ने ।
१२. नेपाल महान् देश हो भन्ने भावनालाई आत्मसात् गरेर विविधतालाई एकतामा बदल्दै विकास निर्माणमा लाग्ने ।
१३. समाजमा सुसम्बन्ध ल्याउने गरी इमान र जनताको सेवाको राजनीति गर्नुपर्नेमा ध्यान दिने ।
१४. गलत ढंगका विधेयक पारित भयो भने विकास निर्माण तथा जनतालाई दिइने सेवा सुविधामा प्रत्यक्ष असर पर्ने र राजनीतिक विचारमासमेत असर पर्ने भएकाले सही विधेयकहरू ठिक ढंगले पारित गर्ने वातावरण बनाउने, गलत विधेय पारित नगराउन भुमिका खेल्ने ।
१५. आफ्नो देशको विकास आफैले मात्रै गर्न सकिने भएकाले त्यस अनुरूप आफूलाई सजग गराउने ।
१६. आत्मविश्वास, पूर्वतयारी र एमालेपनका साथ संसदमा प्रस्तुतीकरण दिने ।

