सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका–२, मानपुर टोलमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

स्थानीय ५० वर्षीय होसनारायण यादवलाई शनिबार राति घरभित्र सुतेकै स्थानमा प्रवेश गरी धारिलो हतियार प्रहार गरेर हत्या गरिएको हो । प्रारम्भिक जानकारी अनुसार होसनारायणलाई दुई जना अपरिचित मानिस आएर घाँटीमा धारिलो हतियार प्रहार गरेका भन्ने सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

घटनास्थलमा सर्लाही प्रहरीका प्रमुख एवं एसपी रवीन्द्रनाथ पौडेल, बरहथवाका डिएसपी गोपीकृष्ण सुवेदीसहितको टोली पुगेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा सहयोग पुग्ने भन्दै प्रहरीले तालिम प्राप्त कुकुरसमेत झिकाएर घटनास्थल वरपर घुमाउने काम गरेको डिएसपी गौतमले बताएका छन् ।

होसनारायणको शव पोस्टमार्टमका लागि आइतबार बिहान प्रादेशिक अस्पताल मलङ्गवा ल्याइएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार