वार्ताका माध्यमबाटै शिक्षकका समस्या समाधान हुन्छन् : शिक्षामन्त्री पन्त

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताए । ‘भर्खर मन्त्रालयमा प्रवेश गरेको छु । यो समस्याको बारेमा जानकार त छु । तर मन्त्रालयको प्रशासन, अरु साथीहरुले विभिन्न कारणले जुन प्रकारले वार्ता गरिरहनुभएको छ । म उहाँहरुलाई त्यसको लागि धन्यवाद दिन चाहन्छु’ उनले भने ।

उनले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिए । वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताए । ‘त्यो सबै विषयमा मैले राम्रोसँग जानकारी लिइसकेको छैन । त्यसबारेमा राम्रोसँग जानकारी नलिकन विचार व्यक्त गर्नु उपयुक्त हुँदैन । भइरहेका प्रयत्नहरु बुझौँ अनि भन्न सकिन्छ’ उनले भने ।

मन्त्री पन्तले अब बोल्ने भन्दा काम गर्ने समय आएको बताए । ‘अब बोल्ने भन्दा पनि काम गर्ने समय आएको छ । म वार्ताबाट समस्याको समाधान गर्ने प्रयत्न गर्दछु । मेरो सम्पूर्ण ध्यान त्यसमा केन्द्रित हुनेछ’ उनले थपे ।

सम्बन्धित समाचार

ताजा समाचार