संसदीय समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसंग गुठी समस्याबारे छलफल गरेपछि राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिले यस्तो निर्देशन गर्ने निर्णय गरेको हो ।बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी लगायतका अधिकारीहरू थिए । मन्त्री अधिकारीले देशभरका गुठीको जग्गा सरकारले खोजिरहेको बताएका थिए ।
सांसदहरूले पनि गुठी समस्या समाधानमा के पहल भइरहेको छ भनेर सोधेका थिए । जवाफमा मन्त्री अधिकारीले गुठीको संरचना र जग्गा खोजेर आवश्यक नीति तय गर्ने सरकारको योजना रहेको बताएका हुन् ।‘समस्या धेरै पहिले देखिकै हो । सरकारको अहिलेको प्राथमिकता गुठीको पुँजी कति छ भन्ने खोज्ने छ । यसकारण हामी देशभरकै गुठीको जग्गा खोज्दै छौं,’ मन्त्री अधिकारीले भने । दैलेखमा मात्रै ७ हजार रोपनी जग्गा एउटै गुठी अन्तर्गत रहेको र यस्तो देशका विभिन्न क्षेत्रमा रहेको उनले बताए ।
बैठकको अन्तिममा समितिले जति सक्दो छिटो गुठी विधेयक ल्याउन निर्देशन दिएको हो । ‘समस्या छ समाधान गर्न जतिसक्दो छिटो गूठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिने,’ समितिको निर्णय सुनाउँदै सभापति सोनाम गेल्जेन शेर्पाले भने ।
जसलाई समितिले अनुमोदन गरेको छ ।

