चार दिनअघि हराएकी युवतीको शव फेला

चार दिनदेखि सम्पर्कविहीन बारपाक सुलिकोट गाउँपालिका- १, बारपाककी एक युवतीको शव फेला परेको छ।

यही मङ्सिर १५ गते शनिबार घाँस काट्न भनेर जङ्गल गएकी १८ वर्षीया सुचिना घलेको शव म‌गलबार गाडिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

सुचिना जङ्गलबाट घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई जानकारी गराएको थियो। प्रहरी चौकी बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीले खोजतलासका क्रममा स्थानीय मैखर्कको जङ्गलमा खाल्डोमा पुरिएको अवस्थामा सुचिनाको शव फेला पारेको सुवेदीले बताए।

युवतीको हत्या भएको अनुमान गरिएको छ। घटनास्थल नजिकै डोको, रगत र कपालसमेत भेटिएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार