नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले इतिहासमै अहिलेजत्तिको कमजोर सुशासन कहिल्यै नभएको बताएका छन् । गृहजिल्ला रोल्पाको रुण्टीगढी गाउँपालिका–४ मा बिहीबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पुनले दुई ठूला दल कांग्रेस र एमालेको सरकार बनेपछि सुशासन कमजोर भएको र भ्रष्टाचार बढेको बताए ।
सहकारी ठगी प्रकरणमा उस्तै गल्ती गर्ने अरुमाथि कारबाही भए पनि सत्तारुढ कांग्रेस र एमालेका नेतालाई छानीछानी उन्मुक्ति दिने काम भएको उनको भनाइ थियो ।
यस्तै उनले मानव तस्करसँग मिलेर युवाहरूलाई जापान लैजाने कोशी प्रदेशका पूर्वआन्तरिका मामिलामन्त्री एवं एमाले सांसद लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएकामा सरकारप्रति आपत्ति जनाए ।

