सरकारी वकिलको कार्यालय काठमाडौंमा सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सुरु भएको छ । उनलाई बिहीबार पोखराबाट काठमाडौं ल्याइएको थियो ।
प्रहरीले बयानका लागि उनलाई आज बिहान सरकारी वकिलको कार्यालय पुर्याएको हो । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । सोहीकारण कास्की प्रहरीको हिरासतमा रहेका उनलाई काठमाडौं ल्याइएको हो ।
लामिछानेविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र कीर्तेलगायतका मुद्दामा अनुसन्धान गरिरहेको छ । २ कात्तिकमा काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेमाथि पोखरा, बुटवल, चितवन र काठमाडौंका चार सहकारीको बचत ठगी आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसअघि उनलाई पोखराबाटै बुटवल पुर्याएर त्यहाँको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा बयान लिइएको थियो । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भइसकेको छ ।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेसहित गोरखा मिडियाका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यो समितिलाई मानेरै रास्वपाले आफ्नो तर्फबाट सांसद शिशिर खनाललाई सदस्यका रूपमा सिफारिस गरेको थियो ।
९९ दिन लगाएर समितिले तयार पारेको प्रतिवेदन निचोडमा खनाल स्वयम्ले पनि हस्ताक्षर गरेका छन् । विभिन्न ५ सहकारीबाट गैरकानुनी ढंगले गोरखा मिडियामा भित्र्याइएको ६५ करोडभन्दा बढी रकम जीबी, रवि र छविको संयुक्त खातामार्फत खर्च भएकाले उनीहरू कारबाहीको भागिदार रहेको समितिको निष्कर्ष थियो । सोही सिफारिसको आधारमा अजोज ५ गते छवि र कात्तिक २ गते रवि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

