काठमाडौं । नेकपा एमालेले राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाटै खोजिनुपर्ने बताएको छ।
मुलुकका विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे केन्द्रीय सचिवालयको ८ बुँदे धारणा सार्वजनिक गर्दै महासचिव शंकर पोखरेलले संविधानका मर्म अनुरूप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिको ध्यानाकर्षण गराएका हुन्। उनले सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्वोधन गरिनुपर्ने बताए।
एमाले आयोजकहरूले योजना विपरीत विध्वंसात्मक र विनाशकारी घटना कसबाट र कसरी घटाइए यसको यथार्थ छानबिन हुनैपर्ने र सत्यतथ्य बाहिर ल्याइनैपर्ने बताएको छ।
एमालेले जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ माग गरेको छ। संसद्, राष्ट्रपति भवन, सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल, प्रहरी कार्यालयलगायत संवैधानिक निकायमा गरिएको तोडफोड तथा अभिलेख नष्ट हुनु राष्ट्रका लागि ठुलो क्षति भएको एमालेले उल्लेख गरेको छ।

