काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले जलनसम्बन्धी गैरसरकारी विधेयक छलफलमा ल्याउन सरकारलाई आग्रह गरेकी छन् ।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन्। उनले लामो समय अगाडी दर्ता गरिएको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा नल्याइएको भन्दै आपत्ति जनाइन् । उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा उक्त विधेयक छलफलमा नआएको गुनासो समेत गरिन्। उनले विधेयकलाई तत्काल सदनमा ल्याएर छलफल अगाडी बढाउन र भविष्यमा जलन पीडितको उपचार अन्योलमा नर्पान समेत सरकारलाई आग्रह गरिन् ।
उनले भनिन्, २०८२ ०८३ को नीति तथा कार्यक्रममा सातै प्रदेशमा जलन उपचार बिस्तार गर्ने बताइरहँदा हामीले लामो समय अगाडी दर्ता गरेको जलनसम्बन्धी गैरसरकारी विधेयक अहिलेसम्म छलफलमा ल्याइएको छैन । म यो सदनमार्फत स्वास्थ्य मन्त्री ज्यू र सरकारलाई आग्रह गर्दछु, भुक्तानी आश्वासन अनुसार तुरुन्त गरियोस्, विधेयक छलफलमा ल्याइयोस् । भविष्यमा जलन पीडितको उपचार अन्योल नहोस् ।
मानव शरीर जलन नियन्त्रण तथा सजायसम्बन्धी गैरसरकारी विधेयक गत वर्षको भदौमा प्रतिनिधि सभामा दर्ता भएको थियो ।

