जनताका मुद्दा र प्रविधिको उच्चतम प्रयोगबाट पार्टीको लोकप्रियता वृद्धि गर्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आधारभुत समस्या र राष्ट्रियताका मुद्दाहरूलाई सशक्त रूपमा उठान गरेर पार्टीको लोकप्रियता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा अध्यक्ष ओलीले देशभक्तिपूर्ण आन्दोलन र जनपक्षीय अडानका माध्यमबाट मात्र पार्टीको लोकप्रियता बढ्ने बताए । जनतासँग नङ र मासुको जस्तै सम्बन्ध कायम गर्दै उनीहरूका समस्या समाधानका लागि इमानदार प्रयास गरे मात्र एमाले पुनः जनताको बीचमा स्थापित हुनसक्ने जिकिर गरे । उनले पार्टी कार्यकर्ताहरूलाई जनताका पीर–मर्का बुझ्न र ती समस्या समाधानका निम्ति सक्रिय रहन समेत निर्देशन दिए । पार्टी पछिल्लो समय सूचना प्रविधिको प्रतिस्पर्धामा केही कमजोर देखिएको स्वीकार गर्दै अध्यक्ष ओलीले ‘आईटी वार’ मा पछाडि परेका कमजोरीहरूलाई सुधार्नुपर्ने आवश्यकता औँल्याए । ज्ञानको भण्डार अथाह रहेको र कुनैपनि कुरा सिक्न असम्भव नरहेको उल्लेख गर्दै उनले नेता तथा कार्यकर्ताहरूलाई आधुनिक प्रविधिको प्रयोगमा अभ्यस्त हुन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले भने, ‘हामीले जनताका र राष्ट्रका वास्तविक समस्यालाई प्रभावकारी रूपमा उठाएर लोकतान्त्रिक ढंगले लोकप्रियता हासिल गर्नुपर्छ । जनपक्षीय अडान, देशभक्तिपूर्ण अभियान र जनतासँग नङ र मासुको सम्बन्ध कायम गर्दै उनीहरूको समस्या समाधानका लागि इमानदार प्रयास गर्न सके मात्र पार्टीप्रति जनविश्वास र लोकप्रियता बढ्छ । आज सूचना प्रविधिको युग हो । सूचना प्रविधि र डिजिटल सञ्चारको क्षेत्रमा हामी केही पछाडि परेका छौँ । त्यसैले यस क्षेत्रमा देखिएका कमजोरी सुधार्दै प्रभावकारी रूपमा अघि बढ्न आवश्यक छ । कुनैपनि व्यक्ति सर्वज्ञ हुँदैन, तर सिक्ने प्रयास गर्नेले ज्ञान हासिल गर्नसक्छ । त्यसका लागि विज्ञहरूको अनुभव, पुस्तक, पुस्तकालय, सञ्चार माध्यम, कृत्रिम बुद्धिमत्ता (एआई) तथा च्याटजीपीटी जस्ता आधुनिक प्रविधिको उपयोग गर्नुपर्छ । यी साधनहरूको प्रभावकारी प्रयोगले हाम्रो अध्ययन, विश्लेषण र राजनीतिक भूमिकालाई अझ सशक्त बनाउन सक्छ ।’
अध्यक्ष ओलीले विज्ञहरूको परामर्श, पुस्तक, पुस्तकालयका साथै आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र च्याट जीपीटी जस्ता आधुनिक प्रविधिहरूको उच्चतम प्रयोग गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । उपलब्ध स्रोत र सञ्चार माध्यमहरूको सही सदुपयोग गर्दै पार्टीको विचार र कार्यदिशालाई आम जनतामाझ पु¥याउन उनले आह्वान गरे ।

सम्बन्धित समाचार

ताजा समाचार