सुदूरपश्चिमको बजेटबारे जुटेन सहमति

कैलाली । सुदूरपश्चिम प्रदेशको बजेट विवाद समाधान गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री कमलबहादुर शाह कैलाली फर्किएका छन्। सोमबार बिहान करिब ९ः३५ मा काठमाडौँ प्रस्थान गरेका मुख्यमन्त्री शाह बुधबार बिहान करिब ९ः३५ मा धनगढी पुग्दैछन् । यो ४८ घण्टामा केन्द्रमा मुख्यमन्त्रीले बजेट पारित गराउन तीव्र छलफल र संवाद गरेपनि ठोस निकास भने आउन सकेन।

कांग्रेसको नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा एमाले पनि सत्ता गठबन्धनमा छ। असार १ गते आर्थिक मामिला मन्त्री विक्रम धामीले ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। त्यसलगत्तै बजेटको विरोध गरेको एमालेले अहिले आफ्ना तीन मन्त्रालयसहित ६ मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न खर्च कटौती प्रस्ताव दर्ता गरिसकेको छ। विवादबारे बुझ्न र समाधान गर्ने प्रयासस्वरूप कांग्रेसबाट महामन्त्री प्रदीप पौडेल र एमालेबाट लेखा आयोगका अध्यक्ष डा। पुष्प कँडेल धनगढी पुगेर आ–आफ्ना दलमा छलफल गरेका थिए। त्यसबाट पनि निकास ननिस्किएपछि मुख्यमन्त्री शाहलाई कांग्रेसले काठमाडौँ बोलाएको थियो।

पार्टी सभापति, उपसभापति, महामन्त्रीसहितका पदाधिकारीलाई मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशको बजेट विवाद र एमालेको अडानबारे जानकारी गराएका थिए। मंगलबार मुख्यमन्त्री स्वयं र कांग्रेसका केन्द्रीय पदाधिकारीले पनि विवाद समाधान गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मनाउने प्रयास गरेका थिए। ओलीले कांग्रेस सभापति गगन थापासँग फोन संवाद गरेका थिए भने मुख्यमन्त्रीलाई भेट्न अनिच्छा व्यक्त गरेका थिए। एमालेबाट सकारात्मक पहल नभएको र कांग्रेसले पनि ठोस निष्कर्ष नदिएपछि मुख्यमन्त्री बुधबार कैलाली फर्किएका हुन्। एमालेसँगको छलफलपछि साँझ ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बजेट र गठबन्धनबारे छलफल गर्ने भनिए पनि एमालेबाट कुनै सकारात्मक जवाफ नआएपछि कांग्रेसले बजेटबारे धारणा सार्वजनिक गर्न सकेन।

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको बजेटमा थुप्रै बेथिति रहेको भन्दै त्यसलाई पुनर्लेखन गर्नुपर्ने बताउँदै आएका छन्।

सम्बन्धित समाचार

ताजा समाचार