काठमाडौं । किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
किसानहरूले उत्पादनको उचित मूल्य, बजारको सुनिश्चितता र कृषि क्षेत्रमा प्रभावकारी सरकारी नीति माग गर्दै बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा किसानहरूले आफूहरूले उत्पादन गरेको गोलभेँडा बिक्री हुन नसकेको, लागतसमेत उठाउन कठिन भएको र सरकारले किसानका समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले गोलभेँडा सडकमै फाल्दै सरकारको कृषि नीतिप्रति असन्तुष्टि जनाएका थिए ।
किसानहरूले कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा अनुदान वृद्धि, मल–बीउको सहज उपलब्धता, बजार व्यवस्थापन तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्न माग गरेका छन् । उनीहरूले सस्तो आयातित तरकारीका कारण नेपाली किसान प्रतिस्पर्धामा टिक्न नसकेको पनि बताएका छन् ।

