कर्णाली सरकारबाट कांग्रेस बाहिरिने तयारी, चारै मन्त्रीले दिए सामूहिक राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको सहभागिता अन्त्य हुने संकेत देखिएको छ। कांग्रेसको तर्फबाट सरकारमा रहेका चारै जना मन्त्रीले सामूहिक रूपमा पदबाट राजीनामा दिएका छन्।

सामाजिक विकास मन्त्री घनश्याम भण्डारीका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकमै राजीनामा बुझाइएको हो। उनले राजीनामा स्वीकृतिको प्रक्रिया बाँकी रहेको बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले पनि मन्त्रिपरिषद् बैठकमै कांग्रेसका सबै मन्त्रीले एकसाथ राजीनामा पेश गरेको जानकारी दिए।

मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह, जलस्रोत मन्त्री विजया बुढा, सामाजिक विकास मन्त्री घनश्याम भण्डारी तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारी सहभागी थिए।

यता आर्थिक मामिला मन्त्री राजीवविक्रम शाह भने स्वास्थ्य उपचारका लागि हाल बैंककमा छन्। उनले विदेश जानुअघि नै आफ्नो राजीनामा संसदीय दलका नेतामार्फत बुझाइसकेको बताए। बैंककस्थित अस्पतालबाट ह्वाट्सएपमार्फत प्रतिक्रिया दिँदै शाहले आफू नेपाल छाड्नुअघि नै राजीनामा पत्र जिम्मा लगाएको र आज अन्य मन्त्रीहरूले सामूहिक रूपमा प्रक्रिया पूरा गरेको जानकारी प्राप्त भएको बताए।

कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामासँगै कर्णाली प्रदेशको राजनीतिक समीकरणमा नयाँ मोड आउने सम्भावना बढेको छ।

सम्बन्धित समाचार

ताजा समाचार