काठमाडौं । नेकपा (एमाले) का सांसद पुष्पराज कँडेलले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरेका छन् ।
सांसद कँडेलले राष्ट्रियता र राजनीतिक प्रतिशोधका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद कँडेलले गत जेठ १७ गते संसद्मा प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री बालेन्द्र साहले दिएको नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका हुन् ।
प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भनी दिएको बयान राष्ट्रघाती भएको कँडेलको दाबी छ । उनले उक्त अभिव्यक्तिले भविष्यमा दुई देशबीच हुने वार्तामा नेपालको विपक्षमा प्रमाणको रूपमा काम गर्न सक्ने खतरा औँल्याउँदै प्रधानमन्त्रीले माफी माग्नुपर्ने र उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे ।
उनले भने, ‘देशको प्रधानमन्त्रीले सम्बन्धित पक्षले समेत नउठाएको र कतै चर्चा नभएको विषयमा नेपालले भारतको भूमि मिचेको भनी संसद्मा बोल्नु गम्भीर षडयन्त्रको संकेत हो । विष्णु पौडेल बेकसुर हुनुहुन्छ । सरकारले आफ्ना कमजोरी लुकाउन र अन्तर्राष्ट्रिय निकायलाई देखाउनका लागि मात्र उच्च ओहदाका व्यक्ति पक्राउ गरेको नाटक गरिरहेको छ। यो नेकपा एमालेलाई बदनाम गर्ने कुत्सित मनसायले प्रेरित छ ।’
नेकपा ९एमाले००का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा पक्राउ गरिएको विषयमा पनि सांसद कँडेलले कडा विरोध जनाए । उनले यस गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र विपक्षीलाई तर्साउने रणनीतिको रूपमा व्याख्या गर्नुभयो । उहाँले पौडेलको तत्काल रिहाइको माग समेत गरे ।

