काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा अब पाँच जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।
उम्मेदवारी फिर्ता लिने समयसीमा सकिँदै जाँदा थप तीन जना आकांक्षीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि प्रतिस्पर्धा थप स्पष्ट बनेको हो। पछिल्लो चरणमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली ले उम्मेदवारी फिर्ता लिएका छन्।
यसअघि जगदीश खरेल र कविन्द्र बुर्लाकोटी ले पनि आफ्नो उम्मेदवारी फिर्ता गरिसकेका थिए। प्रारम्भमा महामन्त्री पदका लागि १० जनाले उम्मेदवारी दिएका थिए।
उम्मेदवारी फिर्तापछि अब महामन्त्री पदका लागि मनिष झा, रन्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिनकुमार आचार्य चुनावी मैदानमा छन्।

