सुदूरपश्चिममा बजेट विवादः प्रदेश सभामा छलफल अन्योलपूर्ण

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षका सांसदहरूले तीव्र असन्तुष्टि जनाएपछि प्रदेश सभामा बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन। बजेट प्रस्तुत भएको ११ दिन बितिसक्दा पनि प्रदेश सभामा औपचारिक रूपमा टेबल हुन नसक्दा बजेट पारित प्रक्रिया नै अन्योलमा परेको छ। आर्थिक मामिला मन्त्री बिक्रम सिंह धामीले असार १ गते प्रदेश सभामा ३७ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको थियो। तर बजेट निर्माण प्रक्रिया, योजनाको वितरण तथा प्राथमिकता निर्धारणप्रति सत्तारुढ दल नेकपा एमालेले नै असन्तुष्टि जनाएपछि बजेट प्रस्तुतिको सुरुवातदेखि नै विवाद उत्पन्न भएको थियो।

एमालेको असन्तुष्टिकै कारण बजेट असार १ गते राति साढे ११ बजे मात्रै प्रदेश सभामा प्रस्तुत गरिएको थियो। त्यसबेला मुख्यमन्त्री कमलबहादुर शाहले बजेटमा आवश्यक संशोधन गर्ने सहमति जनाएपछि एमालेले बजेट प्रस्तुत गर्न सहमति दिएको थियो। तर बजेट प्रस्तुत भएको लामो समय बितिसक्दा पनि सरकारले दलहरूसँग औपचारिक छलफल नगरेको र संशोधन प्रक्रिया अगाडि नबढाएको भन्दै सरकारको आलोचना बढ्दै गएको छ।

प्रदेश सरकार भने दलहरूबीच सहमति खोज्ने प्रयासमा रहेको बताइए पनि हालसम्म कुनै ठोस निष्कर्ष ननिस्कँदा राजनीतिक अन्योल बढ्दै गएको छ। सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षको असन्तुष्टि कायमै रहेका कारण सुदूरपश्चिम प्रदेश सभामा बजेटमाथिको छलफल कहिले सुरु हुन्छ भन्ने अझै टुंगो लागेको छैन।

सम्बन्धित समाचार

ताजा समाचार