भारतीय अवरोधबीच बन्द भएका चिया उद्योग पुनः सञ्चालनमा

विराटनगर । नेपाली चिया निर्यातमा भारतीय पक्षबाट देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकास्थित चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।

भारतीय टी बोर्डले नेपाली चिया आयातमा कडाइ गरेपछि निर्यात प्रभावित भएको थियो। यसले उत्पादन भएको चिया भण्डारण, बिक्री तथा किसानलाई समयमै भुक्तानी गर्न कठिनाइ उत्पन्न भएपछि सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले असार १ गतेदेखि सञ्चालन रोक्ने निर्णय गरेका थिए।

तर स्थानीय सरकार र संघीय सरकारले समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका छन्। सूर्योदय अर्थोडक्स चिया उत्पादक सङ्घका अनुसार उद्योगहरू पुनः सञ्चालनमा ल्याइएका छन् र किसानबाट हरियो चिया पत्ती खरिद गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।

सङ्घले स्थानीय तहसँगको छलफल तथा चिया क्षेत्रको समस्या समाधान गर्न संघीय सरकारले गठन गरेको उच्चस्तरीय कार्यदलबाट सकारात्मक आश्वासन प्राप्त भएपछि उद्योग सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ। निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले सम्बन्धित मन्त्रालय र सरोकारवालासँग निरन्तर संवाद गर्दै आएको छ।

सङ्घका कार्यवाहक अध्यक्ष ज्ञानी लिम्बूद्वारा जारी विज्ञप्तिमा चिया उद्योग, किसान र श्रमिकका समस्याको दीर्घकालीन समाधान खोज्न कार्यदल गठन गरिएको तथा स्थानीय तहको सक्रिय भूमिकाले उद्योग सञ्चालनको वातावरण बनेको उल्लेख छ।

साथै उद्योगहरूले गुणस्तरीय, विषादीरहित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अर्थोडक्स चिया उत्पादनमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्। भविष्यमा वैकल्पिक अन्तर्राष्ट्रिय बजार खोजी तथा विस्तारका लागि पनि पहल गरिने सङ्घले जनाएको छ।

यसैबीच, सूर्योदय नगरपालिकाले उत्पादन भएको चिया भण्डारणका लागि आवश्यक गोदाम उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार