काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले मुलुकमा आइपर्ने सम्भावित बैंक तथा वित्तीय संकटको तत्काल समाधानका लागि राष्ट्र बैंकलाई विशेष र निर्णायक अधिकार दिनुपर्ने माग गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले वित्तीय प्रणालीको संवेदनशीलता र निक्षेपकर्ताहरूको सुरक्षाका लागि राष्ट्र बैंकलाई तत्काल र द्रुत निर्णय लिन सक्ने कानुनी आधार आवश्यक रहेको बताएका हुन् । हाल विद्यमान बहु–तहगत नियामक प्रक्रिया र नियमहरूको अस्पष्टताका कारण द्रुत निर्णय लिन राष्ट्र बैंकलाई समस्या भइरहेको उनले उल्लेख गरे । वित्तीय क्षेत्रसँग सम्बन्धित कानूनी तथा नीतिगत सुधारहरूका विषयमा प्रकाश पार्दै गभर्नर पौडेलले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन र नेपाल राष्ट्र बैंक ऐन संशोधनको मस्यौदा संसदमा दर्ता भइसकेको जानकारी दिए । यसका अतिरिक्त, बैंकिङ कसुर तथा सजाय ऐन, वित्तीय ग्राहक संरक्षण, र भुक्तानी तथा फस्र्यौट ऐन संशोधनसहित ६ वटा महत्वपूर्ण कानूनका मस्यौदाहरू अर्थ मन्त्रालयमा पेश गरिसकिएको उनले बताए । साथै राष्ट्र बैंकको सञ्चालक समितिमा विनिमय अधिकार ऐनको संशोधन, वित्तीय सम्पत्तिको पुनर्संरचना र दाबी नपरेको निक्षेप सम्बन्धी व्यवस्था लगायतका अन्य ४ वटा प्रस्तावहरूमाथि सघन रूपमा छलफल भइरहेको जानकारी समितिमा गराए ।
गभर्नर पौडेलले नेपालसँग हाल २२ अर्ब डलरभन्दा बढीको विदेशी विनिमय सञ्चिति रहेको समितिलाई जानकारी गराएका थिए । कुल सञ्चितिको करिव ६० प्रतिशत सुरक्षित सम्पत्तिको रूपमा अमेरिकी ट्रेजरीमा लगानी गरिएको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय ब्याजदरको उतारचढावले पार्ने प्रभावबारे संसदको ध्यानाकर्षण गराएका छन् ।
उनले भने, ‘कुनै बैंक संकटमा पर्यो भने गभर्नर, अर्थमन्त्री र प्रधानमन्त्री बसेर एकै रातमा त्यसलाई समाधान गर्न सक्ने अधिकार हामीलाई चाहिन्छ । अमेरिकी संघीय ब्याजदर १ प्रतिशतले मात्र घट्दा पनि राष्ट्र बैंकलाई करिव ३० देखि ३५ अर्ब रुपैयाँसम्मको प्रतिफल नोक्सानी हुने संवेदनशीलता रहन्छ । कृषि कर्जाको आकारमा व्यापक वृद्धि भएको छ, तर यो प्रवाह भएको कर्जाको वास्तविक सदुपयोग भयो वा भएन भन्ने विषयमा भने हामीले विस्तृत मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ । सबै कुरामा लगेर न्याँकेर, थुनेर, ब्ल्याकलिस्टमा राखेर वा झ्यालखाना हालेर व्यवसायीहरूलाई उद्यमी बनाउन सकिँदैन, उनीहरूका लागि काम गर्ने उपयुक्त इकोसिस्टम आवश्यक पर्छ ।’
यस प्रकारको जोखिम न्युनिकरण र प्रतिफल विविधीकरणका लागि सोभरेन वेल्थ फण्ड स्थापना गरी सुरक्षित म्युचुअल फण्डहरूमा लगानी गर्ने विकल्पबारे संसद र सरकारले छलफल अघि बढाउनुपर्ने अवस्था आइसकेको बताए । बैठकमा सांसदहरूले कृषि कर्जा सम्बन्धी राखेको जिज्ञासाबारे स्पष्टीकरण दिने क्रममा गभर्नर पौडेलले विगत १० वर्षमा कृषि कर्जा प्रवाह नघटेको तर सही सदुपयोग भए÷नभएको अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक रहेको बताए । आर्थिक वर्ष २०७६ मा २५० अर्ब रुपैयाँ रहेको कृषि कर्जा प्रवाह बढेर अहिले ७१० अर्ब रुपैयाँ पुगेको स्पष्ट पारेका छन् ।
लक्षित कर्जा प्रवाह हुन नसकेको विषयमा समितिमा जानकारी दिँदै गभर्नर पौडेलले १२ प्रतिशतको लक्ष्य तोकिएकोमा करिव ७ प्रतिशत मात्र प्रवाह हुनुमा समग्र आर्थिक इकोसिस्टम जिम्मेवार रहने बताए । जबर्जस्ती कर्जा प्रवाह गरेर मात्र उद्यमी वा व्यवसायी जन्माउन नसकिने भन्दै गभर्नर पौडेलले उद्यमीहरूलाई गल्ती गर्दा पनि उचित संरक्षण गर्ने र व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
राष्ट्र बैंक र सरकारको कार्यगत भिन्नता रहेको यथार्थता बुझ्न सांसदहरूलाई आग्रह गरे । सिंहदरबार राजश्व उठाएर खर्च गर्ने निकाय भए पनि राष्ट्र बैंकले जनताको निक्षेपको सुरक्षा र मौद्रिक स्थायित्व कायम गर्नुपर्ने मुख्य दायित्व बोकेको स्पष्ट पारे । निक्षेपकर्ताको बढी ब्याज पाउने चाहना र ऋणीको सस्तोमा ऋण खोज्ने विपरीत आकांक्षाहरूको बिचमा सन्तुलन मिलाउनु नै राष्ट्र बैंकको प्रमुख चुनौती रहेको उनले उल्लेख गरे । वाह्य क्षेत्र बलियो भएकै कारण मुलुकको सूचना प्रविधि क्षेत्रलाई सहजीकरण गर्न १ मिलियन डलरसम्म विदेशमा लगानी गर्न पाउने खुकुलो नीति अख्तियार गरिएको र यसले सकारात्मक नतिजा दिइरहेको उनको भनाइ थियो । विगतका आर्थिक वर्षहरूमा सरकारले ठूलो परिमाणमा आन्तरिक ऋण उठाउँदा वित्तीय प्रणालीमा देखिएका समस्याहरूको स्मरण गर्दै उनले वर्षमा ३०० अर्बसम्म सरकारी ऋण परिचालन हुँदा बजारमा तरलताको संकुचन भएको र ब्याजदर बढेको ऐतिहासिक विश्लेषण प्रस्तुत गरेका थिए। आगामी मौद्रिक नीति गोप्य रूपमा मात्र नभएर सरकारको बजेट र वित्तीय नीतिलाई पूर्ण रूपमा सफल बनाउने गरी तर्जुमा गरिने उनले प्रतिबद्धता व्यक्त गरे । मौद्रिक र वित्तीय नीतिको उचित समन्वयबाट मात्र मुलुकको आर्थिक लक्ष्य हासिल हुने भन्दै उहाँले यसका लागि सबै पक्षको रचनात्मक सहयोग आवश्यक रहेको बताए ।

