सभामुखलाई चन्द्रमोहनको प्रश्नः रास्वपासँगको नाभी अझै काट्न सक्नुभएको छैन ?

काठमाडौं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाएका छन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाएका हुन् । सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाएका छन् । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकुचित देखिएको उनको तर्क थियो ।

उनले प्रश्न गरे, ‘सभामुख महोदय, यहाँले सदनको अभिभावकका रूपमा यसको सम्मान बढाउनुपर्ने हो । के यहाँले आफ्नो पूर्वपार्टीसँगको नाभी अझै काट्न सक्नुभएको छैन ? प्रधानमन्त्रीज्यूले सीमाका बारेमा जुन अभिव्यक्ति दिनुभयो, त्यसले देश भित्र मात्र नभई बाहिर पनि अनेकौँ प्रश्न जन्माएको छ । छिमेकी मुलुकसँगको वर्षौँदेखिको सुमधुर सम्बन्धमा यसले नकारात्मक असर पारेको छ र हाम्रो राष्ट्रियतामाथि भद्दा मजाक उडाउने ठाउँ दिइएको छ ।’

प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पु¥याएको बताए । उनले राष्ट्रियताको यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको भनाइलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोमा समेत आश्चर्य र खेद प्रकट गरे । संसद ३ करोड नेपालीको आशा, विश्वास र पूर्खाको बलिदानीपूर्ण सङ्घर्षको प्रतीक भएको स्मरण गराउँदै यादवले यसलाई कमजोर बनाउने काम कसैबाट हुन नहुनेमा जोड दिए । सदनमा प्रतिपक्षले उठाएका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै उनले वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी समेत गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार