आठ विश्वविद्यालयमा नयाँ उपकुलपति खोजी प्रक्रिया तीव्र, २ सय १८ आवेदनमाथि अध्ययन सुरु

काठमाडौं । देशका आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदका लागि परेको २ सय १८ आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन प्रक्रिया अघि बढाएको छ।

शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयअन्तर्गतको समितिले गत वैशाख २५ गते सूचना जारी गर्दै इच्छुक तथा योग्य व्यक्तिलाई १० दिनभित्र आवेदन दिन आह्वान गरेको थियो। प्राप्त आवेदनमध्ये सबैभन्दा धेरै त्रिभुवन विश्वविद्यालयका लागि ५० जनाले दाबी पेश गरेका छन्।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा समान ३८/३८ आवेदन परेको छ भने सुदूरपश्चिम विश्वविद्यालयका लागि १९ जना प्रतिस्पर्धामा छन्। मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ तथा राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएका मन्त्रालयले जनाएको छ।

समितिले अहिले सबै आवेदकका कागजातको छानबिन गरिरहेको छ। आवश्यक मापदण्ड पूरा गरेका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेपछि छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाइने बताइएको छ।

उपकुलपति छनोटलाई व्यवस्थित बनाउन सरकारले गत वैशाख २४ गते ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ स्वीकृत गरेको थियो। यसअघि सार्वजनिक निकायका पदाधिकारीलाई पदमुक्त गर्ने विशेष अध्यादेश कार्यान्वयन भएपछि विभिन्न विश्वविद्यालयमा नेतृत्व रिक्त बनेको थियो।

शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित समितिमा शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेल तथा सम्बन्धित विश्वविद्यालयका विज्ञ सदस्य सहभागी छन्।

सम्बन्धित समाचार

ताजा समाचार