जेन–जी अन्दोलनमा अत्यावश्यक सवारी साधन जलेकाले आपत्कालीन उद्धारमा समस्या भयोः सांसद चौधरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक चौधरीले इटहरी उपमहानगरपालिकामा आगलागी नियन्त्रणका लागि तत्काल आधुनिक दमकल र आवश्यक आपत्कालीन उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले इटहरीमा पछिल्लो समय लगातार भइरहेका भीषण आगलागीका घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले पूर्वकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको इटहरीमा आगलागी नियन्त्रणका लागि पर्याप्त साधन र पूर्वतयारी नहुँदा नागरिकले ठूलो क्षति व्यहोर्नुपरेको बताए । आन्दोलनका क्रममा उपमहानगरपालिकाका दमकलसहितका अत्यावश्यक सवारी साधनहरू जलेपछि हाल इटहरीमा अग्नि नियन्त्रण सेवा ठप्प जस्तै रहेको उनले उल्लेख गरे । दमकल नहुँदा आगलागीका समयमा नागरिकहरू भगवान् पुकार्नुपर्ने निरीह अवस्थामा पुगेको उनको भनाइ थियो । सांसद चौधरीले इटहरी उपमहानगरपालिकामा दमकलसहित करिव १५ करोड रुपैयाँ बराबरका सार्वजनिक सवारी साधनहरू जलेको जानकारी दिँदै ती साधनहरूको बिमा नगरिएकोमा कडा आपत्ति जनाए। जनताको करबाट खरिद गरिएका सरकारी सम्पत्तिको बिमा नगराउनु जनप्रतिनिधिहरूको चरम लापरबाही भएको उल्लेख गर्दै उनले दोषीमाथि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।

सांसद चौधरीले भने, ‘जेन–जी आन्दोलन पश्चात इटहरीको मुख्य बजार क्षेत्रमा लगातार तीनवटा भीषण आगलागीका घटना भए । दमकलको अभावमा नागरिकहरू आफ्नै आँखा अगाडि आफ्नो सम्पत्ति जलिरहेको हेर्न बाध्य छन् । हिजो मात्रै इटहरीको कस्तूरी कलेजमा विद्युत् सर्ट भई आगलागी भयो, सौभाग्यवश मानवीय क्षति भएन, तर यस्तो अवस्थामा जिम्मेवारी कसले लिने ?’

उनले इटहरीमा तत्काल आधुनिक दमकल, एम्बुलेन्स र अन्य आपतकालीन उपकरणहरू उपलब्ध गराई सेवालाई प्रभावकारी बनाउन नेपाल सरकारसँग जोडदार माग गरेका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार