काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहेको आरोप लगाएको छ । बिहीवार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाएका हुन् ।
उनले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गरे । सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न नपाईनेतर्फ समेत ध्यानाकर्षण गराए । उनले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भएपनि प्रश्न समेत गरे ।
सचेतक राईले भने,‘पछिल्लो केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रम्ुख प्रतिपक्ष दलको हैसियतले म स्वयम र अन्य माननीयज्यूहरु उठेर सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ । यसमा हामीलाई सम्माननीय सभामुखज्युको साथ मिलेन । सरकारले टेरेन । केही दिनयता अर्को प्रतिपक्ष दलले यहाँ सरकार खोज्दै, सरकारको सदनप्रति उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाईरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ । सभामुख महोयद, यहाँ विर्सन नहुने एउटा प्रशंग उल्लेख गर्न चाहन्छु आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्नै निलो स्काफ घाँटीमा बाँधेर वेल घेरेको थियो । वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढने काम पनि हालको सत्तारुढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आशन प्रतिपक्षको बेञ्चमा थियो । आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित रु सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो, अहिले पनि अमर्यादित र गलत भईराखेको छ भन्ने हाम्रो निष्कर्ष हो । सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो । अर्को सबै मर्यादको केन्द्रमा सरकार छ । सरकारले मर्यादा कायम गर्नुपर्ने हो । तर सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, एलर्जी नै हुने । यो सदनको अभिभावक तपाई हो । यसको गरिमामा एक इञ्च तलमाथि हुन्छ भने त्यो हजुरनै प्रतिष्ठासँग जोडिन्छ ।’
सचेतक राईले सरकारले संसद मर्यादा विपरित काम गरिरहेको जिकिर पनि गरेका छन् ।

