क्रियाशील सदस्यता अद्यावधिक नगर्ने वडा सभापतिलाई कांग्रेसको कडा चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई तीव्र बनाउँदै देशभरका वडा कार्यसमितिलाई कडा निर्देशन दिएको छ। पार्टीले जेठ २१ गतेभित्र सदस्यता विवरण अनिवार्य रूपमा अद्यावधिक गर्न समयसीमा तोकेको छ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाल ले बुधबार जारी गरेको परिपत्रमार्फत ६ हजार ७ सय ४३ वडा कार्यसमितिलाई सदस्यता नवीकरण र अभिलेख अद्यावधिक कार्य तत्काल सम्पन्न गर्न निर्देशन दिएका हुन्।

परिपत्रअनुसार वडा तहमा हुने सदस्यता अद्यावधिकको अनुगमन पालिका कार्यसमितिले गर्नेछ। यदि कुनै वडा सभापतिले यस प्रक्रियामा असहयोग गरे वा ढिलाइ गरेमा पार्टी विधानअनुसार वैकल्पिक नेतृत्व व्यवस्था गरिने चेतावनी पनि कांग्रेसले दिएको छ।

यससँगै सदस्यता अद्यावधिकमा उदासीनता देखाउने वा अवरोध सिर्जना गर्ने वडा सभापतिहरूको विवरण केन्द्रमा पठाउन पालिका कार्यसमितिलाई निर्देशन दिइएको छ।

पार्टीले यसपटक सदस्यता व्यवस्थापनलाई व्यवस्थित र पारदर्शी बनाउन डिजिटल प्रणालीको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। कांग्रेसले पार्टी विधान २०१७ ९एघारौँ संशोधन० र गत चैत ११ गते बसेको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सदस्यता अभिलेखीकरणलाई डिजिटल माध्यममा रूपान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो।

यो परिपत्र ७७ जिल्ला कार्यसमिति र ७५३ पालिका कार्यसमितिलाई समेत जानकारीका लागि पठाइएको पार्टीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार