काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले क्रियाशील सदस्यता अद्यावधिकको काममा उदासीन हुने वडा सभापतिहरूको जिम्मेवारी अन्य व्यक्तिलाई हस्तान्तरण गरिने बताएका छन् ।
पोखरामा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सदस्यता अद्यावधिक पार्टीको नियमित संगठनात्मक कार्य र विधानअनुसारको व्यवस्था भएकाले यसलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।
थापाले कुनै पनि तहका जिम्मेवार व्यक्तिले उक्त काम गर्न अस्वीकार गरेमा त्यसको जिम्मेवारी अर्को कार्यकर्तालाई दिइने स्पष्ट पारे । उनका अनुसार पार्टीको काम कुनै एक व्यक्तिका कारण रोक्न नहुने बताए।
यद्यपि, जिम्मेवारी पूरा नगर्ने व्यक्तिलाई पदबाट हटाउने नभई काम सम्पन्न गर्न वैकल्पिक जिम्मेवारी तोकिने उनको भनाइ थियो ।

