तेह्रथुम । लालीगुराँस नगरपालिकाले बाँदरबाट कृषिमा भइरहेको क्षति न्यूनीकरण गर्न ‘बाँदर लखेटी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै जेष्ठ १ र २ गते बाँदर धपाएर नगरपालिकाको सीमाना कटाउने अभियान सञ्चालन गर्न लागिएको जनाएको छ । कार्यक्रमअन्तर्गत वडा नं. ८ को मेघा पुच्छार, वडा नं. ६ र ८ को संगमस्थल नागेश्वरी तथा वडा नं. ५ को सिथापा पुच्छार क्षेत्रमा अस्थायी संरचना बनाएर बाँदर हेरालु समेत खटाइएको जनाइएको छ ।
नगरप्रमुख अर्जुन मावोहाङद्वारा जारी सूचनामा बाँदर समस्याका कारण कृषकले उत्पादन गरेको कृषि उपजमा ठूलो क्षति पुगेको, खेतबारी जोगाउन रातदिन कुरुवा बस्नुपर्ने अवस्था सिर्जना भएको तथा कतिपय बालबालिका विद्यालय जानसमेत नपाएको उल्लेख गरिएको छ ।

