कांग्रेस, एमाले, नेकपालगायतका दलहरूले गैरआवासीय नेपाली नागरिकलाई संविधानले प्रदान गरेका हक र अधिकार सुनिश्चित गर्नका लागि कानुनहरू संशोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । रास्वपा र राप्रपाले भने नेपाली नागरिकता लिएर विदेशमा गई त्यहाँकै नागरिकता लिए पनि नेपाली नागरिकता कायमै रहने गरी संवैधानिक र कानुनी व्यवस्था गर्ने पहल गर्ने चुनावी वाचा गरेका छन् ।
कांग्रेसको प्रतिज्ञापत्रमा ‘नेपाली डायस्पोरा स् अटुट सम्बन्ध≤ विस्तारित नेपाल’ शीर्षकमा ‘एक पटकको नेपाली, सधैंको नेपाली’ शीर्षकमा विदेशी नागरिकता लिएका नेपालीहरूको विषयमा उल्लेख गरेको छ । ‘हामी एक पटकको नेपाली सधैंको नेपाली भन्ने भावनालाई आत्मसात् गर्दै नागरिकताको निरन्तरता, सम्पत्ति र मतदानको अधिकार सुनिश्चित गरेर डायस्पोराका सबै पुस्ताको भावना, ज्ञान, सीप र पुँजीलाई देशको समुन्नतिमा जोड्ने छौं,’ प्रतिज्ञापत्रमा उल्लेख छ ।
कांग्रेसले गैरआवासीय नेपालीको दोस्रो पुस्ताको नेपालसँगको आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धलाई सुदृढ, जीवन्त र आत्मीय राखिराख्न थप कानुनी व्यवस्था गर्ने प्रतिज्ञा गरेको छ । ‘कांग्रेस पार्टीले गैरआवासीय नेपाली समुदाय वा नेपाली डायस्पोरालाई राष्ट्र निर्माणको महत्त्वपूर्ण साझेदारका रूपमा आत्मसात् गर्दै आएको छ ।

