काठमाडौं । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापाको नेतृत्वमा बनेको नेपाली कांग्रेस केन्द्रीय समितिले औपचारिक रूपमा काम थालनी गरेको छ। नयाँ कार्यसमितिको पहिलो बैठक ललितपुरको कुपन्डोलस्थित म्याक्सिम्स बैंक्वेटमा केहीबेर अघि सुरु भएको हो।
संस्थापन पक्षले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेलगत्तै विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। त्यसैको निरन्तरतामा बसेको बैठकलाई राजनीतिक रूपमा महत्वपूर्ण रूपमा हेरिएको छ।
बैठकमा पार्टीको वर्तमान अवस्था, आन्तरिक विवाद, कानुनी तथा राजनीतिक रणनीतिलगायत विषयमा छलफल भइरहेको जनाइएको छ। विशेषगरी गगन थापा पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने तयारी गरिरहेको सन्दर्भमा यो बैठक निर्णायक मानिएको छ।
नयाँ नेतृत्वले आगामी कदम, संगठन विस्तार र समग्र राजनीतिक दिशाबारे स्पष्ट खाका तय गर्ने अपेक्षा गरिएको छ।

