चितवन । सिमलतालको त्रिशूली नदीमा डेढ वर्षअघि खसेको चर्चित सिमलताल बस दुर्घटनासँग जोडिएको ‘गणपति डिलक्स’ बस अन्ततः फेला परेको छ। भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित त्रिशूली नदीमा आइतबार बिहान बसको केही भाग देखिएपछि खोज तथा उत्खनन कार्य तीव्र पारिएको हो।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले तीन दिनदेखि घटनास्थलमा उत्खनन गरिरहेको छ। उत्खननका क्रममा ‘गणपति डिलक्स’ लेखिएको भाग भेटिएपछि उक्त बस नै सिमलताल दुर्घटनामा परेको गणपति डिलक्स भएको पुष्टि भएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार घटनास्थलमा अझै पनि खोज तथा उत्खनन कार्य जारी छ।
२०८१ असार २८ मा वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस सिमलताल क्षेत्रमा लेदोसहितको पहिरोमा परेर त्रिशूली नदीमा खसेका थिए। सो दुर्घटनामा दुवै बसमा सवार ६५ यात्रुमध्ये मात्र ३ जना ज्यान जोगाउन सफल भएका थिए।
दुर्घटनापछि नारायणी नदीमा २४ जनाको शव फेला परेको थियो। तीमध्ये १९ जनाको मात्र पहिचान खुल्न सकेको थियो भने ४३ यात्रु अझै बेपत्ता रहेका छन्। सरकारले बेपत्ता यात्रुहरूलाई मृतकसरह मानी राहत उपलब्ध गराइसकेको छ।
डेढ वर्षपछि बस फेला पर्नुले पीडित परिवारका लागि पीडादायी सम्झना ताजा गराएको छ भने दुर्घटनाबारे थप तथ्य खुल्ने आशा पनि बढाएको छ।

