विशेष महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया सुरु हुनै लाग्दा नेपाली कांग्रेसभित्र सहमतिका लागि अन्तिम कसरत जारी छ । विशेषगरी शेखर कोइराला निकटका जिल्ला सभापतिहरू सहमतिका लागि तयार पारेको प्रस्तावमा सहमति जुटाउन नेता शेखर कोइराला सभापति देउवासँग छलफल गरिरहेका छन् ।
धादिङका सभापति रामनाथ अधिकारी, नुवाकोटका सभापति रमेश महत, चितवनका सभापति राजेश्वर खनाल, खोटाङका सभापति विष्णुकमार राई, सुनसरी सभापति केदार भण्डारीलगायतका नेताहरूले विशेष महाधिवेशन पक्षधर नेताहरूसँग बसेर मध्यमार्गी प्रस्ताव तयार पारेका थिए ।
उक्त मध्यमार्गी प्रस्तावमा केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनलाई स्वीकार गरेर स्वामित्व लिनुपर्ने, विशेष महाधिवेशनले पारित गरेको दस्तावेज स्वीकार गर्ने र कार्यान्वयनमा लैजाने, निर्वाचन आयोगमा उम्मेदवार मनोनयनका लागि सभापति शेरबहादुर देउवाको नाम र हस्ताक्षर फिर्ता लिनुपर्ने मुख्य छन् ।
यस्तो प्रस्तावमा कार्यवाहक सभापति खड्का सकारात्मक छन् । देउवाले स्वीकार गरेमा कार्यवाहक सभापति खड्का र नेता शेखर कोइराला विशेष महाधिवेशनमा आउने धादिङका सभापति अधिकारीले भने । देउवासँग छलफलमा जानुअघि कोइरालासँग महामन्त्री विश्वप्रकाश शर्माले समेत छलफल गरेका थिए ।‘बिहान विशेष महाधिवेशन पक्षर नेताहरूसँग हामीहरू बसेर एउटा मध्यमार्गी प्रस्ताव तयार पारेका छौँ । पार्टीलाई कुनै पनि हालतमा विखण्डन हुन दिन हुँदैन भनेर हामी जिल्लाका सभापतिहरूले तयार पारेको प्रस्तावलाई शेखर कोइरालाले सकारात्मक रूपमा लिनुभएको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले पनि सकारात्मक रूपमा लिनुभएको छ,’ अधिकारीले भने, ‘सभापतिले स्वीकार गरेर विशेष महाधिवेशनलाई स्वामित्व लिने काम भयो भने समस्या हल हुने देखिएको छ ।’
तर, देउवा पक्षीय नेताहरू विशेष महाधिवेशनलाई स्वीकार गर्ने पक्षमा छैनन् ।
प्रवक्ता प्रकाशशरण महत केन्द्रीय कार्यसम्पादन समितिले विशेष महाधिवेशनको औचित्य समाप्त भएको र विधान विपरीत बोलाइएको विशेष महाधिवेशनमा कोही पनि उपस्थित नहुन सुर्कलर जारी गरेको अवस्थामा त्यसैलाई स्वीकार गरेर अघि बढ्न नसकिने बताउँछन् ।
सभापति देउवाले पनि विशेष महाधिवेशनलाई स्वीकार गर्न मानिरहेका छैनन् । अहिले देउवा निवास महाराजगन्जमा देउवाको उपस्थितिमा कार्यवाहक सभापति खड्कासहितका संस्थपन पक्षका नेताहरूसँग नेता शेखर कोइरालाले छलफल गरिरहेका छन् । कोइरालाले सहमहामन्त्री बद्री पाण्डे, सहमहामन्त्री जीवन परिवार र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललाई छलफलका लागि साथमा लिएर गएका छन् ।

